नबिल बैंक लिमिटेडले मिति २०८१ माघ १८ गते शुक्रबार कतारको र्याडिसन ब्लु होटलमा “घर त नेपाल” शीर्षकमा एक विशेष कार्यक्रम आयोजना गरेको थियो, जसमा नबिल स्टक डिलर लिमिटेडको पनि महत्वपूर्ण उपस्थिती रहेको थियो । यो कार्यक्रम आप्रवासी नेपालीलाई रेमिट्यान्स, निक्षेप, डिजिटल बैंकिङ, कर्जा तथा लगानीका साथै वित्तीय सचेतना, वित्तीय सेवाको उपयोग, बचत र नेपालमा लगानी अवसर र नेपाली शेयर बजारका सम्बन्धमा अन्तरक्रियात्मक छलफल तथा जानकारी दिने उद्देश्यले आयोजना गरिएको थियो ।
त्यस अवसरमा कतारका लागि नेपाली राजदूत रामेशचन्द्र पौडेलले औपचारिक माध्यमबाट रकम नेपाल पठाउँदा नेपालको सम्रग अर्थतन्त्रलाई फाइदा पुग्ने भएकाले पैसा पठाउँदा औपचारिक माध्यमको प्रयोग गर्न आग्रह गर्नुभयो ।
राजदुत पौडेलले कार्यक्रम सम्बोधन गर्दै भन्नुभयो “आर्थिक सुरक्षाको लागि प्रवासी नेपालीहरूले आफ्नो रेमिट्यान्स सुरक्षित र व्यवस्थित रूपमा औपचारिक बैंकिङ प्रणालीमार्फत पठाउनुपर्छ । यसले तपाईंहरूको मेहनतको सही संरक्षण गर्ने मात्र होइन, नेपालकै आर्थिक स्थायित्वमा महत्वपूर्ण योगदान पुर्याउनेछ ।”
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्ञानेन्द्र प्रसाद ढुंगानाले नेपाल र कतार दुवै देशको अर्थतन्त्रको विकासमा नेपाली श्रमिकहरुको महत्वपूर्ण योगदान रहेकामा जोड दिनुभयो । कतारमा भारतीयपछि नेपाली श्रमिकको संख्या सबैभन्दा धेरै रहेको उल्लेख गर्दै उहाँले आफूहरु यहाँ आउनुको उद्देश्य डिजिटल सेवाबारे जानकारी गराउनु रहेको बताउनुभयो ।
जसमा कतारको मोबाइल प्रयोग गरी अनलाइन मार्फत बैंकमा खाता खोल्न, कर्जाका लागि आवेदन दिन तथा बैंकअन्तर्गतका अन्य कम्पनीमार्फत एसआईपी, म्युचुअल फण्ड र शेयर बजारमा लगानी गर्न सकिने जानकारी गराउनु भयो ।
नबिल बैंकका नायब महाप्रबन्धक आदर्श बजगाईंले भन्नुभयो– “नेपालको अग्रणी वित्तीय संस्थाको रूपमा, हामी विदेशमा श्रम गरिरहेका नेपालीहरूको ठूलो योगदानलाई सम्मान गर्छौं । हाम्रो उद्देश्य भनेकै तपाईंहरूको मेहनतको उचित सदुपयोग गर्दै, तपाईंहरूको आर्थिक सुरक्षालाई सुनिश्चित गर्ने वित्तीय उपकरणहरू उपलब्ध गराउनु हो ।”
कार्यक्रममा नबिल स्टक डिलर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योति मान श्रेष्ठले आप्रवासी नेपालीलाई विदेशबाटै नेपालको शेयर बजारमा लगानी गर्ने तरिका र आवश्यक जानकारी उपलब्ध गराउनुभयो । उहाँले शेयर बजारको महत्व र दीर्घकालीन लाभका बारेमा विस्तृत जानकारी दिनुभयो ।
श्रेष्ठले भन्नुभयो, “नबिल स्टक डिलर लिमिटेडको मुख्य उद्देश्य नेपालको शेयर बजारको विकासमा अग्रणी भूमिका निर्वाह गर्नु हो ।” उहाँले भन्नुभयो, “नेपालको शेयर बजारको भविष्य उज्जवल बनाउन र दीर्घकालीन लगानीका अवसरहरूलाई अधिकतम रूपमा प्रयोग गर्नका लागि सबैले सक्रिय योगदान दिनुपर्छ ।”
यसरी, उहाँले नेपाली शेयर बजारको विकास र लगानीकर्ताहरूको चेतनामा सुधार ल्याउने उद्देश्य राख्दै, लगानीका सही मार्गदर्शनका बारेमा जानकारी प्रदान गर्नुभयो ।
नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक हो । बैंकले २४ लाखभन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३२० एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकले ४० वर्ष देखि नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाहरूको सुरुवात गर्दै महत्वपूर्ण भूमिका खेलेको छ । बैंकले नेपालको बैंकिङ विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । साथै नबिल स्टक डिलर लिमिटेड धितोपत्र व्यवसायी (धितोपत्र दलाल र धितोपत्र व्यापारी) नियमावली, २०६४ अनुसार सेबोनद्वारा लाइसेन्स प्राप्त नबिल बैंक लिमिटेडको पूर्ण स्वमत्विमा मिति २०७८ साउन ४ गते देखी संचालन भएको कम्पनी हो । नबिल स्टक डिलर लिमिटेडले शेयर बजारमा शेयर खरिद र बिक्री गर्ने प्लेटफर्म प्रदान गर्ने, मार्जिन कारोवार सेवा प्रदान गर्ने, लगानी व्यवस्थापन सेवा, धितोपत्र प्रत्याभूति सेवा, संस्थागत परामर्श सेवा र हितग्राही खाता सेवा, जस्ता अन्य सेवाहरू सबै लगानीकर्ताहरूलाई प्रदान गर्ने कार्य गर्दछ ।






